“हिंसा” शब्द सहायक बन्यो सदन स्थगित हुनुको संवाहक

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठक राजनीतिक रिसइबी साँध्ने थलो बनेको छ । विगत केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरेको “हिंसा” शब्दलाई लिएर राजनीति त त्यसै भइरहेको थियो भने आज त बैठक सञ्चालनमा हिंसा शब्दले भरथेग वाधासमेत पुर्‍याएको छ । उही हिंसा शब्दका कारण प्रतिनिधिसभाको बैठक आजबाट भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ । बैठक स्थगित गर्न नेकपा माओवादी केन्द्रका सांसदहरूले मद्दत पुर्‍याए ।
हिंसा शब्दलाई लिएर सुरु भएको बहश संसदीय हो वा असंसदीय हो ? निर्क्योल हुनुपर्ने माओवादी सांसदहरूको प्रश्नको बाढीमा सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको व्याख्या गर्ने कोसिस गरेका थिए । हिंसा शब्द असंसदीय नभएको सभामुखको रुलिङपछि माओवादीका सांसदहरू सभामुखसँगै सवाल–जवाफमा उत्रँदै आपत्ति जनाउँदै सदनमा अवरोध गरे । अवरोधका बिच सत्तारुढ दल एमालेका सांसदहरूले सभामुखको पक्षमा बहश गर्न थालेपछि एमाले र माओवादीबीच भनाभन भयो ।

सदन सञ्चालनमा अवरोध आउने परिस्थिति देखिएपछि सभामुख घिमिरेले सभा सञ्चालनमा असहयोग गरेको भन्दै भदौ ३० गतेसम्मका लागि बैठक स्थगित गरे । यसरी प्रतिनिधिसभामा प्रतिपक्षीदलहरू आफूहरूलाई सरकारविरुद्ध प्रस्तुत हुने रणनीतिमा देखिएका छन् । उनीहरूले सदन चलेसम्म सरकारका बिजनेसलाई अप्ठ्यारो पार्ने लगभग सोचाइ बनाएको सजिलै बुझ्न सकिन्छ । उपसभामुख इन्दिरा रानामगरलाई पदीय दुरुपयोग गरेको आरोप लगाएर सत्तारढ दलहरूले महाभियोग लगाउने भन्ने बाहिरी राजनीतिक वृत्तको चर्चाले प्रतिपक्षी दलहरूको मानसिक राजनीतिक तापक्रम बढेको सरल र सहज तरीकाले अनुमान गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर