उपसभामुख रानामगरलाई हटाउने संकेत : प्रतिनिधिसभामा रक्षा-प्रतिरक्षा

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा सांसद बास्कोटाले आफूले पनि सञ्चारमन्त्री हुँदा ७० करोड भिडियो प्रकरणबारे प्रश्न उठेपछि पदबाट राजीनामा दिएर लोकतन्त्रलाई सुदृढ बनाउन योगदान दिएको उल्लेख गर्दै उपसभामुख रानाले पनि सोहीअनुसार अघि बढ्दा राम्रो हुने बताए । आफूमाथि पदीय आचरणको प्रश्न उठेपछि त्यसलाई गलत प्रमाणित गर्न पनि उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुने उनको सुझाव थियो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता गठबन्धनले लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाएको छ । उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको सङ्केत पाएपछि आजको प्रतिनिधिसभाको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने कुरा दलहरूको स्वेच्छाचारी र अत्याचारयुक्त कदम हुने भन्दै यसले दलहरू मात्रै नभई नेपाली लोकतन्त्रलाई नै क्षति हुने बताएका हुन् ।

संवैधानिक परिषदमा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा राजनीतिक दलहरू उपसभामुखलाई हटाउने सल्लाह गर्दै हिँडेको कुराले लोकतन्त्रलाई नै गिज्याएको भन्दै परियारले रास्वपाले एउटा सम्मानित पद गुमाउला तर लोकतन्त्रका लागि लड्ने बताए ।

यसैगरी प्रतिनिधिसभाको शून्य समयमा एमालेले सूर्यप्रसाद ढकालले नैतिकताको आधारमा राजीनामा दिन माग गरे । ‘सदनभित्र र बाहिर पनि नैतिकताको कुरा उठेको छ, पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ । सदन र सदन बाहिर कुरा उठेपछि उपसभामुखले मार्ग प्रशस्त गर्न अर्थात् राजीनामा दिनको लागि आग्रह गर्छु’, ढकालले भने ।

नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल, हितराज तामाङ तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र सुमना श्रेष्ठले उपसभामुखलाई हटाउने षड्यन्त्रमा नलाग्न आग्रह गरे । माओवादी नेता पौडेलले हिजो प्रचण्डलाई हानेको राउण्ड किक आज उपसभामुखमाथि प्रयोग गर्न खोजिएको भन्दै त्यो गरे आफ्नो दललाई सह्य नहुने भन्दै ठुला दुई दलले मात्र सत्ता चलाउने सपना नदेख्न चेतावनी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर