उपसभामुख रानामगरलाई हटाउने कसरतमा सत्तारुढ दल

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस–एमालेको गठबन्धन सरकारलाई सय दिनसम्म छूट दिने र त्यसपछि राजनीतिक प्रतिवादमा उत्रने चेतावनी दिएको केही दिनभित्रै सत्तारुढ दल रास्वपा र त्यस पार्टीका नेताहरूमाथि “एक्सन“ लिन उत्रन सक्ने प्रबल सम्भावना भएको राजनीतिक वृत्तमा चर्चा छ । सभापति लामिछानेले सुदरूपश्चिममा पार्टी संगठन सुदृढ गर्ने क्रममा सत्ता गठबन्धनलाई सय दिनको छूट दिने अभिव्यक्ति दिएका थिए । यसै मेसोमा सत्तारुढ दल नेकपा एमालेले आउँदो असोज ३ गतेसम्म आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ।

आज मंगलबार बिहान संसदीय दलको कार्यालयबाट सांसदहरूलाई टेलिफोनिक म्यासेजमार्फत काठमाडौं नछाडने सन्देश प्रवाह भएको छ । ‘हामीलाई म्यासेज आएको छ। किन भन्ने खुलाइएको छैन,’ नाम नबताउने शर्तमा एमालेका एक सांसदले भने, ‘केही नयाँ राजनीतिक घटनाक्रम हुनेवाला छ कि भन्ने अनुमान गर्न सकिन्छ । सम्भवतः प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरतिर तीर सोझिने हो कि ? भन्ने सर्वत्र आशंका छ ।”
उपसभामुख रानामगर अमेरिकी भिसा प्रकरणमा नराम्ररी मुछिएको विवादास्पद घटना अझैसम्म सेलाएको छैन । सोझो स्वभाव प्रकृतिका रानामगरले आफ्नो निर्दोषिता प्रकट गरेता पनि भिसा चिट्ठी प्रकरणमा उपसभामुखबाट पदीय मर्यादाविपरीत काम सम्पादन भएकै हो भन्ने सत्तारुढ दलका नेताहरूको बुझाई रहेको छ । यता, एमाले प्रमुख सचेतक महश बर्तौलाले पनि टेलिफोनिक म्यासेज आएको प्रस्ट पारेता पनि विषयवस्तु खुलाउन चाहेनन् । हिजो सत्तारुढ गठबन्धनको प्रधानमन्त्रीनिवासमा बसेको बैठकमा उपसभामुख इन्दिरा रानालाई हटाउने सम्बन्धमा शीर्ष नेताहरूले मन्त्रणा गरेको कांग्रेस–एमाले उच्च स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर