अट्वारी पर्व मनाउँदै थारु समुदाय

काठमाडौं ।  पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व धुपधामका साथ मनाइँदैछ । यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ । अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास रहेका ६ जिल्ला दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र नवलपरासी पश्चिममा सार्वजनिक बिदासमेत दिएको छ ।

हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ । दुई दिन सम्म मनाइने अट्वारी पर्वबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ । द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारु समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ ।

अर्कोथरी मत अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ । दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारु समुदायको विश्वास छ ।अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । वर्त बसेका व्रतालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ ।

त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ । तर, पछिल्लो समय  यस्ता संस्कृतिहरु लोप हुने अवस्थामा छन् । यी संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको थारु कल्याणकारिणीसभा दाङ क्षेत्र नं १ का पूर्वअध्यक्ष चेतराम चौधरीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर