चोभारस्थित जलविनायकमा भक्तजनको घुइँचो

काठमाडौं । काठमाडौंको चोभारस्थित जलविनायक (कोयना गणेद्यः) मा गणेश चतुर्थीको मेला लागेको छ । विघ्नबाधा हटाउने गणेशको पूजाआराधना तथा दर्शन गर्न काठमाडौं उपत्यकाका साथै आसपासका क्षेत्रबाट भक्तजनको घुइँचो लागेको हो ।

हिन्दू धर्मावलम्बीले गणेशको जन्मदिनका रूपमा आजको दिनलाई विशेष पर्व मानेर मनाउने प्रचलन छ । गणेश चतुर्थीका दिन मनाइने यस पर्वलाई गणेश चौँथी पनि भनिन्छ । आजको दिन भक्तजनले पवित्र तलाउ, कुण्डमा स्नान गरी गणेशलाई दर्शन गरेर व्रत बस्ने, फलफूल चढाएर वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ ।

वैदिक धर्मावलम्बीले कुनै पनि पूजा तथा शुभकार्य गर्दा गणेशलाई अग्रस्थानमा विराजमान गराई पहिलो पूजा गर्ने र गराउने गर्दछन् । यसो गर्नाले मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख, शान्ति तथा कल्याण हुने जनविश्वास रहेको मन्दिरका पूजारी अनिश श्रेष्ठले बताए । काठमाडौं उपत्यकाका महत्वपूर्ण चार विनायकमध्ये सनातन धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा जलविनायकलाई लिइन्छ । महादेव र पार्वतीको सन्तानका रूपमा जन्मिएका गणेशको दर्शन तथा तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास रहेको मन्दिरका पूजारी श्रेष्ठले जानकारी दिए । गणेशको रथयात्रा गरिने भएकाले यसमा सहभागी हुन उल्लेख्य रूपमा भक्तजन आउने गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर