यसपालीको दशैंतिहारमा नयाँको सट्टा सुकिला नोट मात्र उपलब्ध गराइने

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले हरेक वर्ष दशैंका लागि नयाँ नोट बाँड्दै आएकोमा यस पटक भने सुकिला नोट मात्र साट्न सकिने जनाएको छ । दशैंतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गर्न लागेको हो । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन ।

राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताए । यस पटक दशैंमा नयाँ नोट वितरण नहुने भन्दै पोखरेलले आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दशैंमा दिने पनि सुनाए । दशैंको मनोविज्ञान नै नयाँ नोटसँग जोडिएको हुँदा सर्वसाधारणलाई केही असजिलो लाग्ने भए पनि बिस्तारै सामान्य अवस्थामा आउने राष्ट्र बैङ्कको अपेक्षा रहेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

दशैंमा साना तथा ठुला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने प्रवक्ता पोखरेलले बताए । दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सोही नोट सटहीको सुविधा दिने छ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सयकै हाराहारीमा नोट सटही गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

दशैंमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैङ्कले नयाँ नोट बन्द गर्न लागेको प्रस्ट पारेको छ । सामान्यतया नोटको दरअनुसार तीनदेखि चार वर्ष नोटको आयु हुने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपैयाँ बर्सेनि खर्च हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर