भक्तपुरको तलेजु र चाँगुनारायण मन्दिरको बिजुलीको लाइन काटियो

भक्तपुर । विश्व सम्पदामा अंकित भक्तपुर दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर र चाँगुनारायण मन्दिरको विद्युत लाइन काटिएको छ । विद्युत महसुल तिर्न बाँकी भएकाले नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले दुईवटा मन्दिरको लाइन आज मंगलबार काटेको हो । प्राधिकरणले तलेजु मन्दिरको २३ लाख १८ हजार ८ सय ८५ र चाँगुनारायण मन्दिरको ३५ लाख ७९ हजार १ सय १९ रकम बक्यौता रहेको जनाउँदै लाइन काटेको हो ।

तलेजु भवानीको मन्दिरमा गत २०६० साल कात्तिक १४ गते मिटर जडान गरेदेखि नै विद्युत महसुल नतिरेको प्राधिकरण भक्तपुर शाखाका प्रमुख रामप्रमोद साहले बताए । तलेजु मन्दिरको सुरक्षार्थ खटिएका नेपाली सेनाले समेत प्रयोग गरेको विद्युतको महसुल बक्यौता तिर्न कसैले जिम्मेवारी नलिएको प्रमुख साहले बताए । तलेजु मन्दिरको बक्यौता चुक्ता गर्न मन्दिर व्यवस्थापन समिति, भक्तपुर नगरपालिका, गुठी संस्थान र पुरातत्त्व विभागलाई पटक–पटक ताकेता गरेता पनि कसैले जिम्मा लिन नचाहेको साहको भनाइ छ ।

महालेखा परीक्षकको कार्यालयले समेत विद्युत बक्यौता किन असूल नगरेको भनी प्रश्न उठाइएपछि मन्दिरको बिजुलीको लाइन काट्न बाध्य भएको प्रमुख साहको भनाइ छ । तलेजु मन्दिरको मात्रै मासिक एक लाख रुपैयाँ विद्युत बिल उठ्ने गरेको प्राधिकरणले जनाएको छ । यस्तै, विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरमा जडान गरिएको बिजुली महसुलको बक्यौता तिर्न चाँगुनारायण नगरपालिका र मन्दिरका मुख्य पुजारीलाई पटक–पटक पत्राचार गरेपनि जिम्मेवारी नलिएपछि आजै लाइन काटिएको प्राधिकरणले जनाएको छ । चाँगुनारायण मन्दिरको आम्दानी नगरपालिकाले असुलेपछि विद्युत महसुलपनि नगरपालिकाले नै तिर्नुपर्ने साथै बिजुलीको महसुल तिर्न मन्दिरका पुजारीले पनि ध्यान दिनुपर्नेमा उनी पनि पन्छिदै आएकाले बिजुलीको लाइन काट्नैपर्ने बाध्यता आइलागेको प्रमुख साहको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर