श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको पहिलो अभ्यास खेल वर्षाका कारण रद्द भएको छ । आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली अहिले श्रीलङ्कामा छ ।
वर्षाका कारण मङ्गलबारका लागि तय भएको पहिलो अभ्यास खेल टस समेत हुन नसकी रद्द भएको हो । नेपाली टोलीले अब बुधबार र शुक्रबार अभ्यास खेल खेल्नेछ । यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो । श्रीलङ्का भ्रमणका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १९ सदस्यीय खेलाडी टोलीको घोषणा पनि गरेको छ ।
टोलीमा रोहितसँगै आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् । श्रीलङ्काको अभ्यास पनि नेपालले क्यानडामा हुने विश्वकप लिग–२ का लागि अन्तिम टोलीको घोषणा गर्नेछ ।