सञ्चारमन्त्रीविरुद्ध सत्तापक्ष र विपक्षका सांसदहरुको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल प्रहरीका ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । आज मंगलबार प्रतिनिधिसभाको विशेष समयमा उनले मन्त्रीहरुले बोल्दा जिब्रोमा ब्रेक लगाउन आवश्यक रहेको बताए । साथै, सञ्चारमन्त्री गुरुङको उक्त विवादित अभिव्यक्तिबारे संसद्लाई जवाफ दिन उनले माग गरे ।
‘सञ्चारमन्त्रीज्यूले केही दिन पहिला नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरुलाई म अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँ–कहाँ ब्रेक लगाउनुपर्ने हो ? लाग्दैगर्ला तर मन्त्रीहरुले जिब्रोमा ब्रेक लगाएर बोलियोस् । यसको जवाफ संसद्मा दिइयोस्,’ उनले भने ।

गत शनिबार सञ्चारमन्त्री गुरुङले पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी समायोजन ऐनबारे बोल्दै भनेका थिए, ‘प्रहरीको आईजीपीले के भन्यो ? म कानुन लागू गर्दिन, हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने रु त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी ।’

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनीष झाले नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिलाई लिएर संसदमा आपत्ति जनाए । आजको प्रतिनिधिसभाको विशेष समयमा उनले सरकारको प्रवक्ता र मन्त्रीले ‘जिब्रो थुतिदिन्छु’ भन्नु कहाँको वाक् स्वतन्त्रता हो ? भनी प्रश्न गरे ।
सांसद झाले भने, “लोकतन्त्रको प्रमुख आधारभूत सिद्धान्तमा सबैभन्दा पहिलो र प्रमुख वाक् स्वतन्त्रता हो । एउटा प्रहरी संगठनको प्रमुखले केही बोल्नुभयो । आफ्नो सांगठनिक केही चुनौतीहरु अभिव्यक्त गर्नुभयो भने सरकारको प्रवक्ता र मन्त्रीले ‘जिब्रो थुतिदिन्छु’ भन्छ भने कहाँको वाक् स्वतन्त्रता र कहाँको लोकतन्त्र हो यो ? हामीलाई आएर त्यही दलसँग सम्बन्धित केही पाको अग्रजहरुले सभ्यता सिकाउनु हुनेछ भन्ने अनुरोध छ । आफ्नै मन्त्रिपरिषद्को सदस्यलाई पहिला सिकाउनुस् ।”

यसैगरी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले यही तरिकाले सरकार अगाडि बढेमा व्यवस्था नै संकटमा पर्नसक्ने चेतावनी दिएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उनले यथास्थितिमै सरकार अगाडि बढेमा व्यवस्था, नेतृत्व र मुलुकमाथि नै संकट आउनसक्ने बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि आफू पाँच वर्ष जेल बसेको बताउँदै उनले नेतृत्वको असक्षमताको भारी अब बोक्न नसक्ने बताए ।

‘“यही तरिकाले सरकार जान्छ भने संकट व्यवस्थामाथि पनि पर्छ । संकट नेतृत्वमाथि पनि पर्छ । संकट मुलुकमाथि पनि पर्छ । त्यसकारण सरकार होइन, अब काम गरेर देखाउनुपर्छ । म व्यवस्थाको निमित्त लडेको हुँ । पाँच वर्ष जेल बसेको छु । पिटाइ खाएको छु । तर, नेतृत्वको इच्छाशक्ति नहुँदा काम गरौं भन्दा पनि हामीले जवाफ दिनुपर्ने ? यो भारी अब हामी बोक्न सक्दैनौं, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर