कांग्रेसमा हिन्दू राष्ट्रलाई लिएर नेताहरूबिच भनाभन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । पार्टी मुख्यालय सानेपामा हिजो आइतबार बसेको बैठकले महामन्त्रीद्वयको प्रस्तावहरु परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो ।

बैठकमा पेचिलो रूपमा उठेको नेतृत्वको ‘एक्जिट पोलिसी’ को विषयमा संविधान संशोधन गर्ने समयमा नै निर्णय पुग्ने गरी सहमति जुटेको केन्द्रीय सदस्य अब्दुल सतारले जानकारी दिए । बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्रीद्वय थापा र शर्माको क्रमशस् सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल हुँदै आएको थियो । कांग्रेसले आशन्न महाधिवेशनको मितिसहितको विषयलाई केन्द्रीय समितिले अगाडि बढाउने, एक्जिट पोलिसीसहितका विषयलाई सम्बोधन गर्नेसहित आवश्यक संशोधन गर्नका लागि विधान मस्यौदा समिति गठन गर्नेलगायतका निर्णय पनि गरेको छ ।

विशेषगरी पार्टीको महाधिवेशन २०८२ मा गर्ने विषयमा महामन्त्रीले गरेको प्रस्तावमा विधानबमोजिम गर्ने भन्ने सहमति बनेको नेता सतारले बताए । यस्तै गठबन्धनको विषयमा भने आगामी निर्वाचन ताका नै कांग्रेसभित्र सर्वसम्मत निर्णय गरेर अघि बढ्ने निर्णय भएको छ । बैठकमा सनातन धर्मको विषयमा एजेण्डा नभएपनि आकस्मिक रूपमा छलफलमा आएपछि केही नेताहरुबीच उक्त विषय पार्टीको भौपचारिक प्रस्तावमा नभएको विषय छलफलमा ल्याइएको भन्दै भनाभनको अवस्थासमेत सिर्जना भएको थियो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै वर्तमान सत्ता गठबन्धनको विपक्षमा नलाग्न सदस्यहरुलाई निर्देशनसमेत दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर