देउवालाई प्रधानमन्त्री त्याग्न विश्वप्रकाशको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् । पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकमा उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् । ‘उहाँहरु मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने – एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं’, शर्माले भने ।
शर्माले डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिए । देउवासँग आग्रह गर्दै भने, ‘एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रुपले साथ दिनुपर्छ । तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न ।’