परिस्थिति जता पनि बरालिएर जान सक्ने भएकाले कांग्रेस सम्हालिनुपर्ने : थापा

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग मिलेर सत्ता सहयात्रा गरेर गइसकेपछि समग्र प्रणाली जोखिममा रहेको बुझेर अगाडि बढ्नु पर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले अप्रत्याशित रुपले एमाले र कांग्रेस सत्ता सहयात्रा भएपछि अब गरिएका समझदारीहरु जसरी पनि पूरा गर्नका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा सक्रियपूर्वक अगाडि बढ्नुपर्ने बताए ।

उनले सबै हिसाबले अन्य दलभन्दा एमाले र कांग्रेसबीच हरेक क्षेत्रमा प्रतिस्पर्धा हुने भएकाले गर्दा संयमित भएर सही निर्णय गरेर अगाडि बढ्नु कांग्रेससँगै एमालेको पनि दायित्व भएको उनले बताए । नेता थापाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउनु पर्ने, सभापति देउवाको नेतृत्वको सरकारले चुनाव गर्नुपर्ने र ८४ को चुनाव जितेर पनि आउनु पर्ने कांग्रेसको गम्भीर चुनौती रहेको बताए ।

कांग्रेसको चुनावी प्रतिस्पर्धी एमाले नै भएको भन्दै उनले यो बीचमा सरकारले काम गर्दै गर्दा पार्टीको पहिचानलाई पनि जोगाउनु पर्ने बताए । उनले नेतासँगै पार्टीको पहिचानलाई जोगाउनु प्रमुख दायित्व भएको भन्दै अहिले काठमाडौँमा देखिएका घटनाहरु सामान्य नभएको बताए । टुँडिखेलमा सभापति देउवा र प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा भएको विरोधतर्फ संकेत गर्दै महामन्त्री थापाले परिस्थिति जता पनि बरालिएर जान सक्ने भएकाले सम्हालिनुपर्ने बताए ।

उनले कांग्रेसले गरेका राम्रा काम र सरकारले गर्ने राम्रा कामलाई विस्तारै बढाएर यस्ता भइपरि आउने घटनाहरु कम बनाउँदै लैजानुपर्नेसमेत बताए । उनले संविधान संशोधन हुने नहुने भन्दा पनि बहस हुने बताए । पार्टीले संघीयताको र समावेशीताको निर्णय गरिसकेकाले त्यसबाट पछि हट्न नहुने बताए । अब कांग्रेसले परिणाम र कामको प्रचार गरेर अगाडि नबढेसम्म ८४ को निर्वाचन सहज नहुनेसमेत सचेत गरे ।

नेता थापाले चैतभित्र सबै भ्रातृ संस्थाहरुको अधिवेशन गर्नुपर्ने बताए । उनले तीन चार महिनाको समय जिम्मेवार सदस्यहरुले घुँडा धसेर भए पनि अधिवेशन पूरा गर्न अनुरोधसमेत गरे । उनले यसअघि गरेको कांग्रेसको अभियान भन्दा पनि फरक तरिकाले केन्द्रीय सदस्यहरु खटिएर असोज १ देखि पुस १० गतेसम्म जिल्लाका विवादको टुंगो लगाउनु पर्ने गरी जिम्मा तोकिनेसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर