मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु

काठमाडौं ।  हिमाली जिल्ला मुगुमा पहिलो पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ। यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिँदै आए पनि नयाँ जातको स्याउको बिरुवा वितरण भएको दुई वर्षपछि बिरुवाले उत्पादन दिन थालेको हो।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले दुई वर्षअघि छायानाथ रारा नगरपालिका–५ र ४ का किसानलाई ‘फुजी गाभा’ जातका स्याउका बिरुवा वितरण गरेको थियो। उक्त जातका स्याउ उत्पादनका लागि मुगुको हावापानी उपयुक्त भएकाले बिरुवासहित अन्य आवश्यकीय पूर्वाधार, औँजार, प्राविधिक सहयोग गरिएको परियोजना, कार्यान्वयन एकाइ कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्लले बताए ।

उनका अनुसार बिरुवा लगाएको एक वर्षपछि स्याउ उत्पादन दिन थाले पनि दुई वर्षदेखि दिन थालेको स्याउ गुणस्तरीय हुन्छ। थोरै क्षेत्रफलमा धेरै विरुवा रोप्न मिल्ने र एउटै बोटमा धेरै स्याउ उत्पादन गर्न सकिने प्रमुख मल्लको भनाइ छ। परम्परागत जातको स्याउका बिरुवा प्रति हेक्टर तीन सय बिरुवा लगाउन सकिन्छ भने फुजी स्याउको बिरुवा प्रति हेक्टर तीन हजारसम्म लगाउन मिल्छ।

आथिक वर्ष २०७९/८० मा व्यावसायिक फुजी स्याउ उत्पादन गर्न पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ मुगुले उच्च घनत्व स्याउ प्रदर्शन कार्यक्रमअन्तर्गत दुई वटा कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा आठ सय बिरुवा उपलब्ध गराएको थियो। छायानाथ रारा नगरपालिका–४ अन्तर्गत मुसेचौर कृषि पशुपक्षी फर्मलाई पाँच सय बिरुवा र वडा ५ सक्षम कृषि पशुपंक्षी फामलाई तीन सय बिरुवा दिइएको थियो। यस वर्षदेखि प्रतिबोटमा पाँचदेखि आठ केजीसम्म स्याउ उत्पादन भएको छ। राम्रो सुरक्षा, गोडमेल र मलजल पाएमा २० वर्षसम्म फल दिनसक्ने छ। फुजी स्याउको उत्पादनबाट मात्रै यस वर्ष यहाँका किसानले पाँच लाखभन्दा बढी आम्दानी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर