पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो।

निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ घटाएको छ। त्यस्तै आन्तरिक हवाई इन्धन लिटरमा पाँच रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर ३७ अमेरिकी डलर घटाएको छ। ग्यासको भाउ प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसा बढेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत् राखिएको पनि निगमले जनाएको छ।

निगमले तय गरेको पेट्रोल र डिजेलको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रुपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टितेल १५१ रुपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६२ रुपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टितेल १५३ रुपैयाँ पर्नेछ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६३ रुपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टितेल १५४ रुपैयाँ पर्नेछ।

आइओसीले हरेक महिनाको पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर