अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई उपेक्षा गर्दै राष्ट्रपति पुटिन मंगोलिया जाँदै

काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३ सेप्टेम्बरमा मङ्गोलियाको भ्रमण गर्दैछन्। यसैबीच, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले पुटिन मङ्गोलिया गएमा उनलाई पक्राउ गर्ने जिम्मेवारी त्यहाँका अधिकारीहरूको हुने बताएको छ।

अदालतका प्रवक्ता डा. फादी अल-अब्दल्लाहले आईसीसीको आदेश पालना गर्नु मङ्गोलियाको कर्तव्य भएको भन्दै यसमा मङ्गोलियाले सहयोग गर्नुपर्ने बीबीसीलाई बताए। मङ्गोलिया आईसीसीको सदस्य हो। गत वर्ष मार्चमा आईसीसीले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। अदालतले युद्ध अपराधका लागि पुटिन दोषी ठहर गरेको थियो। आईसीसीले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी)को स्थायी सदस्य राष्ट्रका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको यो पहिलो पटक हो।

आईसीसीले पुटिनको नाममा वारेन्ट जारी गर्नुलाई रुसले ‘अपमानजनक’ भनेको थियो। अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स यूएनएससीका स्थायी सदस्य हुन्। युक्रेनले पनि पुटिनले मङ्गोलिया भ्रमण गरेमा उनलाई पक्राउ गर्न पनि माग गरेको छ। युक्रेनी विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मङ्गोलियालाई पुटिन एक युद्ध अपराधी हो भन्ने र आईसीसीले उनी विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ भन्नेबारे मङ्गोलिया सचेत छ भन्ने आशा गरेका छौँ।’

वारेन्ट जारी भएपछि रुसी राष्ट्रपतिको आईसीसी सदस्य राष्ट्रमा हुन लागेको यो पहिलो भ्रमण हो। वारेन्ट जारी भएदेखि पुटिनले ११ देशको भ्रमण गरिसकेका छन्। जसमा चीन, उत्तर कोरिया, साउदी अरेबिया र युएई जस्ता देशहरू पर्छन्। तर, ती देशहरू आईसीसी सदस्य राष्ट्र होइनन्। रुसले पुटिनमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएको छ। समाचार एजेन्सी एएफपीका अनुसार मंगोलियामा गिरफ्तारीको प्रश्नमा राष्ट्रपति कार्यालय क्रेमलिनले पुटिनको भ्रमणको बारेमा ‘कुनै चिन्ता नभएको’ बताएको छ।

मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेलसुखको निमन्त्रणामा पुटिनको भ्रमण हुन लागेको हो। सन् १९३९ मा सोभियत संघ र मंगोलियाका सेनाले मिलेर जापानी सेनालाई पराजित गरेका थिए। सेप्टेम्बर ३ मा ८५ वर्ष पूरा हुँदैछ। उक्त समारोहमा सहभागी हुन पुटिन राजधानी उलान बातोर जाँदैछन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई पुटिनको भ्रमणको सन्दर्भमा मङ्गोलियासँग गिरफ्तारी वारेन्टको बारेमा छलफल भएकोबारे सोधिएको प्रश्नमा उनले भने- ‘मङ्गोलियासँग हाम्रो राम्रो सम्बन्ध छ। यद्यपि, राष्ट्रपतिको भ्रमणको तयारीमा हामीले सबै सावधानी अपनाएका छौं।’

आदेश पालना नगरे के हुन्छ ?

रिपोर्टका अनुसार यदि मंगोलियाले आईसीसीको आदेश पालना गर्दैन भने अदालतले यसबारे केही गर्न सक्दैन। यद्यपि आईसीसीका प्रवक्ता डा. अब्दल्लाहले कुनै सदस्य राष्ट्रले आदेशको पालना गर्न अस्वीकार गरेमा आईसीसीले त्यसबारेमा विचार गर्ने बताए। यस विषयमा सदस्य राष्ट्रहरूको बैठकमा छलफल भएपछि उचित कारबाही गरिनेछ। आईसीसीसँग कसैलाई पनि गिरफ्तार गर्ने अधिकार नभएकाले आदेशहरू कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूमा निर्भर रहनुपर्ने बाध्यता छ।

3

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर