नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग चाँडै सञ्चालनमा ल्याउन निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौंको नागढुंगा-सिस्नेखोला सुरुङ मार्गको आज स्थलगत निरीक्षण गरेका छन् ।
काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिकहरु भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने यात्रामा निस्केका मन्त्री दाहालले पहिलो चरणमा सुरुङ मार्गको निरीक्षण गरेका हुन् ।
मन्त्री दाहालसँगै नेकपा एमाले धादिङका नेताहरुको टोली शुक्रबार बिहान काठमाडौँको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोला सिस्नेखोलातर्फ निस्किएका थिए ।
सुरुङको यात्रा गरेर निस्किएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले नेपालमा सुरुङको युग सुरु भएको र काठमाडौंबाट पसेर धादिङमा निस्कँदा खुशी लागेको प्रतिक्रिया दिए । समयमै काम सक्न र चाँडै सुरुङ्ग सञ्चालनमा ल्याउन ठेकेदार कम्पनी र सम्बन्धित निकायहरुलाई उनले निर्देशन पनि दिएका थिए ।