दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जती भएको प्रधानमन्त्रीको स्वीकारोक्ति

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरु वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीवार महिला भलिबल खेलाडीहरुको सम्मान कार्यक्रममा उनले देशको अर्थतन्त्रको स्थिति राम्रो नरहेकाले सकेसम्म खेलाडीहरुका लागि सेवा सुविधा वृद्धि गर्ने कुरामा ध्यान दिने बताए ।

भलिबल टिमका लागि एउटा कभर्ड हलको आवश्यकता रहेको कुरा खेलाडीहरु स्वयंले पनि बताइसकेको भन्दै सरकारले आवश्यक ध्यान दिइ काम गरिरहेको उल्लेख गरे । उनले हरेक प्रदेश र जिल्ला- जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीहरुलाई अभ्यास गर्न सहज हुनेगरी सरकारले काम अघि बढाइरहेको बताए ।

उनको कथन यस्तो रहेको छ, ‘सिक्नका लागि अनुकलता, वातावरण चाहिन्छ । कहाँ सिक्ने, कसरी सिक्ने त्यसका निम्ति अस्ति खेलाडी टिमले पनि बताइसकेको छ । हामीलाई लगातार सिक्नका लागि कभर्ड हल आवश्यक छ । हरेक मौसममा सिक्नका लागि कभर्ड हल आवश्यक छ । हामीसँग कभर्ड हल छैन । अहिले हामी कभर्ड हलको कुरा गर्दैछौँ । प्रदेश प्रदेशमा भयो भने सकेसम्म जिल्ला, जिल्लामा पुग्यो भने हामी त्यहीँ सिक्न सक्छौँ । त्यसकारण यसको बिस्तार र शुरुवात गरिनुपर्छ । खेलाडीहरुले सुविधा प्राप्त गर्ने हो भने, सुविधा प्राप्त नगर्दा त हामी यत्तिको उन्नतिमा आएका छौँ भने तेस्रो गेम सकिँदासम्म हाम्रो आशा माथि थियो । चौथो गेमले बराबर गरायो । पाँचौँ पुग्दा हामी हार्‍यौँ । तर त्यस भन्दाअघि त्यही टिमलाई हार्‍यौँ पनि । प्राविधिक हिसावले हामी हारेका हौँ । यथार्थमा बराबरी खेलेका थियौँ । मन खुम्च्याउनुपर्ने आवश्यकता छैन । हामी जित्न सक्छौँ । सर्वोत्कृष्ट टिम बन्नसक्छौँ । दक्षिण एशिया, एशिया र सिंगै विश्वकै हुन सकिन्छ । नसक्ने भन्ने केही छैन । हामीले सुविधा खेलाडीलाई उपलब्ध गराउने कुरामा अलि बढी ध्यान दिनुपर्छ । यसमा हामी सबैको ध्यान गएको छ । तसर्थ यस अवस्थालाई हामी अवश्य परिवर्तन गर्नेछौँ । देशको अर्थतन्त्रको स्थिति राम्रो छैन । हामी कतिसम्म सक्छौँ सुविधाहरु, भौतिक पूर्वाधारहरु र अन्य सुविधाहरु वृद्धि गर्नमा हाम्रो अधिकतम ध्यान जानेछ ।’

प्रधानमन्त्री ओलीले  बताए । केही समयअघि भूटानको पारोसँगको खेलमा दशरथ रंगशालाको अवस्थाले देशको बेइज्जत भएको भन्दै दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिए । उनले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी रंगशाला निर्माण गर्न आग्रह गरे । उनले दर्शकलाई देखाउने गरीको खेल खेल्न २५ हजार दर्शक क्षमताको रंगशाला अपरिहार्य रहेको भन्दै मैदान चुस्त, दुरुस्त बनाउन आग्रह गरे । प्रधानमन्त्री ओलीले मैदानको दुरुपयोग नगर्न पनि आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर