प्याजको भाउ एक्कासि वृद्धि, प्रतिकेजी १५० रुपैयाँ ?

काठमाडौं । नेपाली बजारमा प्याजको भाउ महँगिएको छ । प्याजमा भारतसँग निर्भर रहँदै आएको नेपाल भारतमा प्याज महँगो भएको हल्ला आउनेबित्तिकै यसको असर नेपाली बजारमा देखिन थालेको हो । पछिल्लो एक साताको बिचमा प्याजको भाउ थोकमै प्रतिकेजी ४० रुपैयाँ महँगिएको छ भने खुद्रा यो भाउ अझै महँगो भएको छ ।

देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार प्रतिकेजी १२० रुपैयाँ थोकमा कारोबार भएको छ । जबकि एक साताअगाडि प्याज प्रतिकेजी ८० रुपैयाँ थोकमा कारोबार भएको थियो । खुद्रा बजारमा प्याज प्रतिकेजी १५० रुपैयाँमा कारोबार भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा पछिल्लो एक सातादेखि औसतमा ४५ मेट्रिक टन प्याज भित्रिएको छ । समितिका प्रव्रक्ता विनय श्रेष्ठले बजारमा प्याजको आगमन आधाले घटेसँगै भाउ महँगो भएको बताए । उनका अनुसार प्याज महँगो हुनुका कारण व्यापारीसँग बुझ्दा भारत सरकारले प्याज निर्यातमा कडाइ गर्न निर्यात महसुल वृद्धि गरेकाले यसको असर नेपाली बजारमा देखिएको बुझिएको छ ।

भारतको निर्यात महसुल वृद्धि गर्ने नीतिले महँगी बढ्नु स्वाभाविक भए पनि तुरुन्तै बढ्नु स्वाभाविक नभएको तर्क उपभोक्ता अधिकारकर्मीले गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न नियामक निकाय चनाखो हुन नसक्दा परिणाम हो भने । बजार अनुगमन र मूल्य नियन्त्रणको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित अनुगमन गरेर बढी मूल्य लिने व्यावसायीलाई कारबाही तथा जरिबाना गरेको जनाएको छ । विभागले अस्वाभाविक रूपमा प्याजको भाउ बढेको उजुरी विभागमा अहिलेसम्म नआएको र यस विषयमा भोलिदेखि नै निगरानी बढाइने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर