नेपाल र ओमानबिच श्रमिकको हकहितका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा दुईपक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणका क्रममा हिजो नेपाल आएको हो । नेपालको ओमानसँग ‘सन् १९७७ जनावरी २१’ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो ।

परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री सैय्यदबीच द्विपक्षीय भेटवार्ता

यसैगरी परराष्ट्रमन्त्री आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सैय्यद बद्र बिन हमाद बिन हमूद अलबुसैदीबीच द्विपक्षीय भेटवार्ता भएको छ। मंगलबार काठमाडौ‌ंमा दुई पक्षबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो। वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो।

वार्तामा नेपाल तर्फबाट मन्त्री डा राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरू र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरू सहभागी थिए। वार्तामा परराष्ट्र मन्त्री राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरेकी थिइन्। पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरू गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरूलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि उनले आग्रह गरिन्। यस विषयमा ओमानका विदेशमन्त्री अलबुसैदीले पुनः विचार गर्ने बताएका थिए।

त्यसैगरी नेपालले नेपाली श्रमिकहरूको हक हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो। नेपाल पक्षले ओमानको श्रम कानुन र अरू वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो। ओमान पक्षले पनि नेपाली श्रमिकहरू काममा लगनशील र इमान्दार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिक लैजाने विषय बताएको थियो। यस विषयमा दुई देशबीचमा श्रम सम्झौता गरिने सहमति सो वार्तामा भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर