काभ्रेका विभिन्न स्थानमा करिब १२ हजार कन्या पुजिए

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा काभ्रेका विभिन्न स्थानमा यस वर्ष पनि करिब १२ हजार कन्या पुजिएका छन् । एक सय चौध बर्ष अघिदेखि सुरु भएको कन्यापूजामा बनेपा, पनौती, दाप्चा नाला, साँगा जनागाललगायत नेवार समुदायको बसोबास रहेका अधिकांश स्थानमा कन्याहरू पुजिएका हुन् । बनेपामा मात्र ७ हजार कन्याहरू पुजिएको सनातन कन्या पूजा प्रबन्ध समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिए । नेवारी समुदायमा बेल विवाह नगरेका तथा अन्य समुदायमा रजस्वला नभएका बालबालिकालाई कन्याको रूपमा पूजा गर्ने गरिन्छ । कन्याहरूलाई पूजा गर्दा निरोगी हुने, सुख सम्पत्ति पाई खुसी हुने र कन्याहरूलाई दान दक्षिणा दिनेको पनि मनुष्य जीवन सफल हुने धार्मिक आस्था रहेको छ ।

वि.सं. १९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्यापूजा नेपालकै एक मात्र कन्याहरू पुज्ने पर्व हो । कन्याहरूको लाममा देव कन्या, नाग कन्या, गन्धर्व कन्या, किन्नर कन्या र किच कन्यासमेत मानव भेषमा आउने भएकाले उनीहरूलाई आराध्य देवी चण्डेश्वरी माईकी कुमारी मानी पूजा गरेमा मनुष्य कर्म सार्थक हुने विश्वास रहिआएको छ । सनातन कन्या पूजा प्रबन्ध समिति तथा व्यक्तिगत गरी देशभरबाट आएका दाताहरूले ल्याएको पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफूल, पैसा, बिस्कुटलगायतका सामान दान दिइने गरिन्छ । कन्यापूजाको लागि काभ्रे जिल्लाको अलावा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, पोखरालगायतका विभिन्न जिल्लाबाट हजारौं दर्शनार्थीहरुका साथै पुजिनको लागि कन्याहरू आएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर