म्यानचेस्टर सिटीको फराकिलो जित
काठमाडौं । अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतमा साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फूटबलमा शनिवार इप्सविच टाउनमाथि ४–१ गोल अन्तरको फराकिलो जित निकालेको छ । एक गोलले पछि परेको अवस्था उल्टाउँदै सिटीले शानदार जित निकोलेको हो । हालान्ड चम्किएपछि सिटीले पुनरागमन जित सम्भव भएको थियो ।
एतिहाड स्टेडियममा शनिवार राति सामी स्मोडिक्सले खेलको सातौं मिनेटमै गोल गर्दै पाहुना टोली इप्सविच टाउनलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । सिटीका हालान्डले १२औं मिनेटमा नै पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि नै केभिन डे ब्रुयनेले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।
यसपछि खेलको १६औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले अग्रता ३–१ पुर्यायो । दोस्रो हाफमा सिटीले एक गोल थप्यो । ८८औं मिनेटमा हालान्डले नै व्यक्तिगत तेस्रो गोल गर्दै नयाँ सिजनको पहिलो ह्याट्रिक पूरा गरे । यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा सिटीले खेल ४–१ ले जित्यो । लगातार दोस्रो जितपछि सिटी ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । शनिवारै भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गरेको ब्राइटन एन्ड होभ अल्बियनको पनि समान ६ अंक छ । तर गोलअन्तरमा सिटी अघि छ । यस्तै आर्सनलको पनि ६ अंक नै छ । गोल अन्तरका आधारमा सिटी पहिलो, ब्राइटन दोस्रो र आर्सनल तेस्रो स्थानमा छन् ।