भारतीय महलीसागर बाँधका कारण चार सय हेक्टर धान खेती डुबानमा

काठमाडौं । सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण जिल्लाको करिब चार सय हेक्टर धान खेती डुबानमा परेको छ । सीमा क्षेत्रसँगै भारतले निर्माण गरेको बजाहा बाँध, महलीसागर बाँध र सिसवा बाँधका ढोका नखोलिँदा नेपालतर्फको धान खेत डुबानमा परेको हो । वर्षाका कारण मायादेवी र यशोधरा गाउँपालिकाका एक दर्जन गाउँका साढे तीन सयभन्दा बढी कृषकको चार सय हेक्टरमा लगाइएको धान खेत डुबानमा परेको छ । तीनदेखि पाँच किमी दक्षिणका खेत पानीमा डुबेपछि धान गलेको छ ।

भारतीय पक्षले हिउँदमा बाँधको ढोका खोल्ने र वर्षामा बन्द गर्ने गरेको कृषक बताउँछन् । बाँधमा रहेका २८ वटा ढोका नखोलिँदा खेती डुबानमा परेको कृषक बताउँछन् । मायादेवी गाउँपालिका–४, तुल्सीडिहवाका जयबुद्ध यादवका अनुसार वर्षापछि बाँधको ढोका नखोलिँदा तीन सय बिघामा लगाइएको धान बाली पानीले डुबेको बताए । सीमा क्षेत्रको भारतीय भूभागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाँधको ढोका बन्द गरिँदा सो क्षेत्रमा रहेको ५४२–४७ नम्बरको सीमास्तम्भसमेत पानीमा डुबेको छ ।

भारतको चिल्हिया थानाअन्तर्गत पर्ने सो तालको आधा भाग नेपाल र आधा भारततर्फ पर्छ । बजहा तालमा पानी जम्मा गरेर भारतले सिँचाइ गर्ने गरेको छ । तालमा २८ वटा फलामका ढोका राखेर बाँध बनाइएको छ । बजहा क्षेत्रमा भारतले १० किलोमिटर क्षेत्रवरिपरि बाँध बनाएको छ । बाँधलाई बाटोका रूपमा समेत प्रयोग गर्ने गरिएको छ । २८ वटा ढोका बन्द गरिँदा जमेको पानी निकास हुन पाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर