विश्वको सबैभन्दा दोस्रो ठूलो हिरा बोत्स्वानामा फेला पर्‍यो

काठमाडौं । बोत्स्वानामा विश्वको दोस्रो ठूलो दुई हजार चार सय ९२ क्यारेटको विशाल हिरा फेला परेको क्यानेडाली उत्खनन कम्पनीले बिहीबार घोषणा गरेको छ । उत्तरपूर्वी बोत्स्वानाको कारोब हिरा खानीबाट एक्स–रे प्रविधि प्रयोग गरेर हिरा फेला पारेको हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनीले ‘लुकारा डायमन्ड कर्पोरेशन’ विज्ञप्तिमा जनाएको छ ।

लुकाराले हिराको मूल्य वा गुणस्तरबारे कुनै जानकारी दिएको छैन । तर क्यारेटको सन्दर्भमा यो सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको तीन हजार १६ क्यारेटको कुल्लीनान हिरापछिको दोस्रो ठूलो हिरा हो । “यो असाधारण दुई हजार चार सय ९२ क्यारेटको हिरा फेला परेकोमा हामी अत्यन्तै खुसी छौँ”, लुकाराका अध्यक्ष विलियम ल्याम्बले विज्ञप्तिमा भनेका छन् । कम्पनीले सार्वजनिक गरेको तस्बिरले यो हिरा हातको हत्केलाजस्तै ठूलो भएको देखाएको छ ।

यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो कच्चा हिरामध्ये एक हो । ठूलो, उच्च मूल्यको हिरा पहिचान र संरक्षण गर्न सन् २०१७ मा स्थापना गरिएको कम्पनीको ‘मेगा डायमण्ड रिकभरी एक्स–रे’ प्रविधि प्रयोग गरेर यो हिरा पत्ता लगाइएको विज्ञप्तिमा जनाइएको छ । बोत्स्वानाका राष्ट्रपति मोक्ग्वित्सी मासिसीले बिहीबार यो विशाल ढुङ्गाको अवलोकन गरेका थिए । युरोपको सबैभन्दा ठूलो अनलाइन हिरा व्यवसाय ‘७७ डायमण्ड’ का प्रबन्ध निर्देशक टोबियास कोर्मिन्डले यो कुल्लीनान हिरापछि फेला परेको सबैभन्दा ठूलो कच्चा हिरा भएको जानकारी दिए । “यो खोजका लागि धेरै हदसम्म नयाँ प्रविधिलाई धन्यवाद दिनुपर्छ”, उनले भने ।

बोत्स्वाना विश्वको सबैभन्दा ठूलो हिरा उत्पादकहरू मध्ये एक हो । यसको आयको मुख्य स्रोत कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ३० प्रतिशत र यसको निर्यातको ८० प्रतिशत हिरा व्यवसायसँग सम्बन्धित छ । खोजको घोषणा हुनुअघि बोत्स्वानामा फेला परेको सबैभन्दा ठूलो हिरा सन् २०१९ मा कारोव खानीमा लुकाराले उत्खनन गरेको एक हजार सात सय ५८ क्यारेटको ढुङ्गा थियो र यसको नाम सेवेलो राखिएको थियो । लुकाराले सन् २०२१ मा पनि उही एक्स–रे प्रविधि प्रयोग गरेर बोत्स्वानामा एक हजार एक सय ७४ क्यारेटको हिरा फेला पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर