पाल्पामा ४० वर्षपछि मतया (दीपयात्रा) जात्रा

काठमाडौं । ४० वर्षपछि पाल्पामा मतया (दीपयात्रा) जात्रा निकालिएको छ । श्री ७ सूर्यविनायक मन्दिर दाफा भजन खलका अध्यक्ष मङ्गलमान बज्राचार्यको अगुवाइमा बुधबार मतया जात्रा निकालिएको हो ।
ऐतिहासिक एवं सांस्कृतिक सहर तानसेनमा बसोवास गर्ने रैथाने हुन् वा बाहिरबाट बसाइँ आएका, धेरैले नौलो प्रकारको जात्रा हेर्दा अचम्म मान्ने गर्दछन् । चामलको पिठोबाट बनाइएको खुर्सानी, मम, केराउ, अण्डा, स्याउ, भुटुवालगायत थुप्रै सक्कली तथा नक्कली परिकार बोकेका महिलाले बजार परिक्रमा गरेका थिए ।

धिमे बाजासहित विभिन्न पोसाकमा महिला तथा पुरुष सजिएर मन्दिर र बौद्ध विहारमा नक्कली तथा सक्कली खानाका परिकार चढाएका थिए । ‘तानसेन, टक्सारकी विद्यालक्ष्मी बज्राचार्यले भनिन्, ‘यसलाई पछिल्लो ४० वर्षपछि निकाल्न सकिएको थिएन । यसवर्ष प्रयास गरेपछि निकाल्न सफल भइएको छ । यसलाई हामीले भगवानलाई पनि झुक्काउने जात्रा भन्छौं, भोलिपल्ट बिहान यो जात्रा अर्थात् दीपयात्रा गरिन्छ ।’

मन्दिरमा प्रसाद चढाएर फर्केपछि लक्ष्यवत्ती बालिन्छ । टक्सार टोलका महिलाले घर–घरमा बनाएका विभिन्न सामग्री बोकेर बजार परिक्रमा गरेको स्थानीय टक्सारका सुरेशमान बज्राचार्यले बताए । मतया दुई सय वर्ष पहिलेदेखि तानसेनमा चलिआएको संस्कृतिविद श्रेष्ठको दाबी छ । उनका अनुसार तानसेन टक्सार टोलमा ललितपुर पाटनबाट आएका शाक्य जातिको संख्या उल्लेख्य थियो । धातुकलाका काममा आएका कालीगढहरुले तानसेन आउँदा आफूसँग आफ्नो मौलिक संस्कृति, संस्कार र रीति–रिवाजलाई पनि सँगै लिएर आएको संस्कृतिविद् श्रेष्ठले बताए । ‘मतया’ अर्थात् मत भनेको मन र ‘या’ भनेको गर, भएकाले मनमा आएको बनाएर भगवानलाई चढाउने प्रचलन रहेको श्री ७ सूर्यविनायक मन्दिर दाफा भजन खलको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर