आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी डा तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने’ भन्ने सार्वजनिक महत्त्वको विषयमाथी स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची तय भएको छ । आजै प्रतिनिधिसभाको बैठकमा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलोसंशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । आजकै बैठकमा उपप्रधानमन्त्री पौडले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

त्यसैगरी राष्ट्रियसभाको आज दिनको १ः१५ बस्ने बैठकमा न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । आजकै बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफल र सोही संशोधनलाई पारित गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर