माओवादी केन्द्रमा ०४७ को सातो पस्यो, सडक संघर्षको मनस्थिति बनाउन परिपत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले मुलुकको वर्तमान राजनीतिक वस्तुस्थितिको विश्लेषण गर्दै कांग्रेस र एमालेले देशलाई २०४७ सालतिर फर्काउने संकेत देखिएको निष्कर्ष निकालेको छ ।

विगत ६ दिन बसेको स्थायी कमिटी बैठकपछि प्रदेश समितिका इन्चार्ज र अध्यक्षलाई परिपत्र जारी गर्दै यदि त्यसो हो भने माओवादीले त्यसको प्रतिवाद गर्न सडक आन्दोलन गर्नेपर्ने आवश्यकता औंल्याइएको छ । कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सहमतिलाई माओवादीले अप्रत्याशित र भ्रष्टाचारविरुद्धको सुशासनको अभियानलाई अवरुद्ध गर्ने र भ्रष्टहरूलाई बचाउने नियत प्रष्ट भएको परिपत्रमा आरोप लगाएको छ ।

“संविधान संशोधन गर्ने भनेर भनिएका विषयहरू सुन्दा दश वर्षको जनयुद्ध र बृहत् शान्ति सम्झौतापश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशीलगायतका उपलब्धिहरूलाई उल्ट्याएर मुलुकलाई २०४७ साल तिर फर्काउने संकेत देखिन्छ। संविधानले सुनिश्चित गरेको बहुदलीय प्रतिस्पर्धाको प्रणालीलाई उल्ट्याएर दुई दलीय सर्वसत्तावादतर्फ लैजाने दिशामा उद्दत देखिन्छ”, परिपत्रमा भनिएको छ । “प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षण, जनताका दैनिक समस्याहरू आदि विषयलाई लिएर सदनमा प्रतिपक्षमा रहेर सशक्त ढंगले भूमिका निर्वाह गर्नुपर्ने छ। सदनमा खबरदारीका बाबजुद पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार झन्झन् अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने आवश्यकतालाई पनि ध्यानमा राख्नुपर्ने देखिन्छ”, परिपत्रमा उल्लेखित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर