भ्यागुतालाई परिकार खुवाउने भक्तपुरका किसानको आनौठो चलन

काठमाडौं  ।  जनैपूर्णिमाका दिन बिहानदेखि मठमन्दिरमा भीड चुलिँदै जाँदा भक्तपुरका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आफ्ना खेततिर लाग्ने गर्दछ। गोलाकार पारेर काटिएका मुलाका चाना सिन्काले घोचेर भातमा अड्याइएको छ। छरिता रोटीसँगै विभिन्न तरकारी, क्वाँटीलगायत खानेकुरा ठूलो पातमाथि राखिएका छन्। रक्षाबन्धन धागो र सिन्दुर पनि त्यसमै राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालेर त्यसलाई किस्तीमाथि राखेर यहाँका किसान खेतमा पुग्छन्।

आफ्ना खेतमा पुगेर आलीमा टुक्रुक्क बसेर भ्यागुतालाई पाहुनाका रुपमा डाक्छन् र किसानले भ्यागुतालाई परिकार छाडिदिन्छन्। सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो त्यहीँ छाडिदिन्छन्। साङ्केतिक रूपमा सिन्दुर पहिर्याईदिन्छन्। अनि किसानले ऐनाका रुपमा (भातमा गाडिएका मुलाका चाना) देखाइदिन्छन्। किसान आफू हिँडेपछि भ्यागुता आएर खाने विश्वासमा परिकारका भाग त्यहीँ छाडिदिन्छन्। यो परम्परा देख्नेलाई अनौठो लागे पनि भक्तपुरका नेवार समुदायका लागि भने यो परम्परा हरेक वर्षको जनैपूर्णिमामा मान्दै आएका छन्।  आजकै यहाँका बासिन्दाले खेतखेतमा भ्यागुतालाई परिकारसहितको भात खुवाएर यो पर्व मनाउँछन्।

प्रकृतिपूजक किसान भ्यागुताले बालीनाली सपारिदिने विश्वास रहेको संस्कृतिकर्मी कला जोशी बताउँछन्। त्यही गुन तिर्न वर्षको एक दिन उनीहरूलाई भोज खुवाउने परम्परा सदियौँदेखि रहँदै आएको उनको भनाइ छ। प्रत्येक वर्ष गाईजात्राको अघिल्लो दिन (रक्षाबन्धन) भ्यागुतालाई भोज खुवाउने परम्परा छ। यसलाई स्थानीय किसान ‘ब्यां चा जानका वानेगू’ भन्छन्। नेपालभाषामा ‘ब्यां’ को अर्थ भ्यागुतो र ‘जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्ग भ्यागुतालाई किसानको सहयोगीका रूपमा लिई सम्मानसाथ भोज खुवाउने परम्परा रहेको बताउँछन्। भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गर्ने गरेको तथा भ्यागुतो उफ्रँदा बारीमा मल फिजिन्छ र बाली बिगारिदिने कीटाणु खाइदिन्छ भन्ने विश्वासले भ्यागुताको पूजा र भोज खुवाउने परम्परा रहँदै आएको उनको तर्क छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर