आज घरेलु टोली नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं ।  दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज आइतबारदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ । नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्यसहित प्रतियोगिताको तयारी गरेको छ ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । सन् २०१५ मा नेपालबाट सुरु भएको उक्त च्याम्पिनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समा खेलाइएको थियो । उक्त प्रतियोगितामा नेपालले फाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।

नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ मा तेस्रो र २०२३ मा पाँचौँ संस्करण आयोजना गरेको थियो । त्यसपछि सन् २०१७ मा भुटानमा भएको उक्त च्याम्पियनसिपमा पनि नेपाल च्याम्पियन बनेको थियो । त्यसपछि भारतले लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरिसकेको छ । अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनल पुगेको छ । एक पटक समूह चरणबाटै बाहिरिएको छ ।

नेपाली टोलीमा कप्तान कुशल देउवा, जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् । त्यसैगरी राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, नीरज कार्की, हरिशराज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, र रोहन खड्गी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर