साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्समा हुने

काठमाडौं ।  दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पठाएको म्याच कमिस्नर अब्दुल हामिद अब्दुल गफरले आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाका खेल मैदान निरीक्षण गरेपछि खेल खेल्न योग्य नभएको निष्कर्ष निकालेको हो । सोही निर्णयसँगै उक्त प्रतियोगिताका अन्य खेलहरु दशरथ रङ्गशालामा हुने सम्भावना कम भएको छ ।

अखिल नेपाल फुटबल सङघ (एन्फा) का प्रवक्ता सुरेश शाहले म्याच कमिस्नरले दशरथ रङ्गशालाको मैदान खेल्न योग्य नभएको बताएको जानकारी दिए । उनले यो निर्णय नै अन्तिम नहुने भन्दै म्याच कमिस्नरले साफमा खबर पठाएपछि उताबाट जे निर्णय आउँछ त्यही अन्तिम निर्णय हुने बताए । उक्त रङ्गशालाको निरीक्षण गर्न माल्दिभ्सका अब्दुल बिहीबार काठमाडाैं आइपुगेका थिए ।

उक्त प्रतियोगिताको खेल सुरुआतमा दशरथ रङ्गशालामा खेलाउने आयोजक एन्फाको तयारी थियो । तर वर्षाका कारण दशरथ रङगशालाको अवस्था नाजुक भएपछि कहा खेलाउने टुङ्गो लाग्न सकेको थिएन । एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिताको सुरुआती खेल एन्फा कम्लेक्सको मैदानमा हुने भन्दै आगामी दिनमा वर्षा सुधार भए दशरथ रङ्गशालामा सेमिफाइन र फाइनल खेल गराउने सम्भावना कायमै रहेको बताए ।

यही साउन २९ गते दशरथ रङ्गशालामा नेपालको सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एएफसीबीच एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोट खेल भएको थियो । त्यतिबेला वर्षाका कारण मैदान हिलाम्मे भएको थियो । जसका कारण दुवै टोलीले हिलाम्मे मैदानमा खेल खेलेका थिए । यसअघि पनि एएफसीले उक्त मैदानलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अयोग्य घोषणा गरेको थियो ।

साफ यु–२० च्यापिम्यनसिप आगामी भदौ २ गतेदेखि घरेलु मैदानमा हुँदैछ । भदौ १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिताका कतिपय टोली नेपाल आइसकेका छन् । समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदैछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर