आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने खालका ठोस योजना ल्याउन निर्देशन दिएका छन् ।

मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालू आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको एक सय दिनभित्र गरिने मुख्य कामबारे आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिए ।

उनले विकास खर्च शत प्रतिशत गर्न सक्ने हो भने अर्थतन्त्र चलायमान बनाउन सकिने धारणा व्यक्त गरे । “हामी जागिर खाइरहेका छैनौँ । देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ । भावी सन्ततिका लागि काम गरिरहेका छौँ । यो सेवाको तुलना पारिश्रमिकसँग हुनसक्दैन”, प्रधानमन्त्री ओलीले भने, “हाम्रो लक्ष्य निर्धारण काल्पनिक नभई वस्तुगत हुनुपर्छ । पूरा गर्न कठिन हुन्छ भनी कमजोर लक्ष्य राख्न हुन्न ।”

उनले अबका तीन महिनामा इतिहासका विगतमा भन्दा बढी मेहनतका साथ काम गरेर देखाउनुपर्ने समय आएको बताए । “धेरै काम गर्दा समस्या आउँछन्, अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ । गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन”, उनले भने । प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यावसायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन, उपकरण र स्रोत साधनको पूर्ण उपयोगमा ध्यान दिन पनि निर्देश गरे ।

उनले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीन दिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सिर्जनामा लाग्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रूपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउन सम्बन्धित मन्त्री र सचिवको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर