भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दा भारी छूट

काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ । प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुई वटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिन लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्याण्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्य योजना भएको बताए । मन्त्री पाण्डेले कार्यदलले दिएको सुझाव र एअरलाइन्सहरूले खोजेको सहुलियतका आधारमा सरकारले ग्राउन्ड ह्याण्डलिङमार्फत लिने सेवा शुल्क आगामी २०८३ साल भदौसम्म नलिने योजना बनाएको जानकारी दिए ।

सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिन लागेको र हवाई टिकटमा लगाउने गरेको भ्याट पनि आगामी २०८३ भदौसम्म नलिने योजना रहेको बताए । इन्धनको विषय उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा इन्धनको मूल्य भन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्य योजना बनेको छ । अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरको लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना रहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजना भएकाले यसको सञ्चालनमा सबैले सहयोग जरुरी रहेको मन्त्रालयले जनाएको छ । विमानस्थल सञ्चालनको लागि विभिन्न उपायहरूमा विमानस्थल सञ्चालनको लागि सहुलियतको प्रबन्ध सरकारले गरिदिनुपर्ने एअरलाइन्सहरूको माग गरेको थियो । सोही मागअनुसार सरकारले प्रवन्ध गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर