थाइ प्रधानमन्त्री थाभिसिनलाई संवैधानिक अदालतले हटायो

काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनलाई संवैधानिक अदालतले पदबाट हटाएको छ । उनीमाथि आपराधिक रेकर्ड भएका वकिललाई क्याबिनेटमा समावेश गरेको आरोप लागेको थियो । मन्त्रिपरिषद्मा सामेल हुने वकिल पिचित चुएनबान हुन्, जो सन् २००८ मा भएको एक मुद्दामा दोषी ठहरिएको थियो । अदालतले प्रधानमन्त्री श्रेथाको यो कदमलाई नैतिकताको उल्लङ्घन भएको भन्दै दोषी ठहर गरेको छ ।

संवैधानिक अदालतका ९ न्यायाधीशको इजलासले ५–४ को बहुमतले उक्त निर्णय गरेको हो । अदालतले प्रधानमन्त्री श्रेथाले आपराधिक रेकर्ड भएका व्यक्तिलाई जानाजानी मन्त्रिपरिषदमा समावेश गरेको बताएको छ । पूर्वसिनेटरहरुले प्रधानमन्त्री श्रेथाविरुद्ध अदालतमा उजुरी दिएका थिए । यी सबै सिनेटरहरू अघिल्लो सरकारले नियुक्त गरेका थिए । यो निर्णयपछि थाइल्याण्डमा राजनीतिक संकट उत्पन्न भएको छ ।

अघिल्लो साता संवैधानिक अदालतले प्रमुख प्रतिपक्षी दल मुभ फर्वार्ड पार्टीलाई खारेज गरेको थियो । साथै यसका सबै नेताहरुलाई १० वर्ष प्रतिबन्ध लगाइएको छ । गत वर्ष भएको निर्वाचनमा मुभ फरवार्ड पार्टीले सबैभन्दा बढी सिट जितेको थियो ।

अदालतले आदेशमा थाई सरकारको मन्त्रिपरिषद् पनि विघटन गरेको छ । अब यसपछि नयाँ प्रधानमन्त्री नियुक्त हुनेछन् । फू थाइ पार्टी नेतृत्वको सत्तारुढ गठबन्धनले अब प्रधानमन्त्री पदका लागि नयाँ नाम घोषणा गर्ने भएको छ । नयाँ नाम घोषणा गर्न थाइल्याण्डको ५०० सदस्यीय संसदमा मतदान हुनेछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर