राष्ट्रिय प्रसारणमा २५ मेगावाट बिजुली थपिँदै

काठमाडौं ।   सेती नदी जलविद्युत् आयोजना सम्पन्न भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा २५ मेगावाट क्षमताको आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ। ‘आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ। यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौँ। त्यसपछि ‘वेट टेष्ट’ (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने)को काम शुरु हुन्छ’, प्रवर्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भने।

‘वेट टेष्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन शुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ। सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर १८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ। पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२.५ मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ।  आयोजना नदी जलप्रवाहमा आधारित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर