विद्युत् चुहावट आधा घटाइएको कुलमानको दाबी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष २०७२-७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०-८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।
विद्युत् चुहावटलाई आव २०७३-७४ मा २२ दशमलव ९० प्रतिशत, २०७४-७५ मा २० दशमलव ४५ प्रतिशत, २०७५-७६ मा १५ दशमलव ३२ प्रतिशत र २०७६-७७ मा १५ दशमलव २७ प्रतिशतमा झारिएको थियो । आव २०७७-७८ मा भने चुहावट बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई आव २०७८र७९ मा १५ दशमलव ३८ र आव २०७९र८० मा १३ दशमलव ४६ प्रतिशतमा झारिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा सफलता हासिल गरेको बताए । कार्यकारी निर्देशक घिसिङले ‘लोडसेडिङ’ अन्त्य भई नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे ।
“प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्षरुपमा अर्बौं रकम आम्दानी गुमिरहेको थियो, प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रुपमा घटी यो अनुपात छिमेकी देशहरुभन्दा कम भएको छ”, कार्यकारी निर्देशक घिसिङले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर