बंगलादेशमा उच्च अदालत घेराउ गर्न आह्वान, शेख हसिनाले राजीनामा नदिएको खुलासा

काठमाडौं । शेख हसिनाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा  नदिएको ‘खुलासा’ भएको छ । उनका छोरा सजीव वाजेदका अनुसार प्रदर्शनले उग्ररूप लिएपछि हसिनाले राजीनामा दिने योजना बनाएकी थिइन् । तर, प्रदर्शनकारीहरू निवास नै घेराउ गर्न पुगेपछि उनले राजीनामा नै दिन नपाएको उनको दाबी छ ।

“मेरी आमाले औपचारिकरूपमा राजीनामा दिनुभएको छैन । उहाँले राजीनामा दिने समय नै पाउनुभएन । उहाँ अझै पनि बंगलादेशको प्रधानमन्त्री हुनुहुन्छ,” वाजेदले रोयटर्स समाचारसंस्थासँग शनिबार कुराकानी गर्दै भने । वाजेदका अनुसार हसिनाले एक वक्तव्य दिएर राजीनामा दिने योजना बनाएकी थिइन् । तर, आन्दोलनकारीहरू प्रधानमन्त्री निवासमा र्‍याली गर्न थालेपछि उनले समय नै पाइनन् ।

“मेरी आमाले सामान प्याक गर्ने समय पनि पाउनुभएन । संविधानअनुसार उहाँ अझै पनि बंगलादेशको प्रधानमन्त्री हो ।” राष्ट्रपतिले सेना प्रमुख र विपक्षी दलहरूसँगको परामर्शमा गरेको संसद् विघटन र प्रधानमन्त्रीले औपचारिकरूपमा राजीनामा नदिएर कामचलाउ सरकार गठन गरेकोविरुद्ध ‘अदालतमा चुनौती दिन सकिने’ उनको दाबी छ ।

प्रधानन्यायाधीश ओबेदुल हसनको राजीनामा माग

यसैगरी कोटा प्रणालीको भेदभावविरुद्धको विद्यार्थी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीश ओबेदुल हसनको राजीनामा माग गरेका छन् । अन्तरिम सरकारको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका उनले प्रधानन्यायाधीशलाई कुनै प्रकारकको ‘षड्यन्त्र’ नगर्न चेतावनी पनि दिएका छन् ।

उनले शनिबार फेसबुकमा पोस्टमार्फत भनेका छन्,”फाँसीवादलाई समर्थन गर्ने र विभिन्न कूकर्ममा संलग्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशले सरकारसँग परामर्श नगरी अदालतको पूर्ण बैठक बोलाएका छन् । परास्त शक्तिको कुनै पनि षड्यन्त्र सह्य छैन ।” यसैबीच, आन्दोलनकै अर्का संयोजक हसनत अब्दुल्लाले फेसबुक लाइभमार्फत समर्थकहरूलाई उच्च अदालत घेराउ गर्न आह्वान गरेका छन् । उनले उच्च अदालततर्फ मार्चको आह्वान छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर