बंगलादेश लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित पुनरागमन हुने नेपालको विश्वास

काठमाडौं । नेपाल सरकारले बंगलादेश लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित पुनरागमन हुने विश्वास व्यक्त गरेको छ । साथै नेपालले बंगलादेशका जनतालाई शान्त र संयमताका लागि आह्वान गरेको छ । नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालले बंगलादेशमा शान्ति र स्थिरता सुनिश्चित चाहेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी सबैलाई शान्त र संयमित हुन आह्वान गर्दछौँ र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित पुनरागमनको महत्वमा जोड दिन्छौँ । हामीलाई विश्वास छ कि बङ्गलादेशका सबल र लचिलो जनताले शान्ति र स्थिरतातर्फ सहज संक्रमण सुनिश्चित गर्न सक्षम हुनेछन् ।’ यस्तै मन्त्रालयले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको विज्ञप्तिमा उल्लेख छ ।

बंगलादेशमा चाँडै शान्ति स्थापना हुने नेपाली कांग्रेसको अपेक्षा

नेपाली कांग्रेसले बङ्गलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा बङ्गलादेशी नागरिकको भावनाबमोजिम चाँडै नै त्यहाँ शान्ति स्थापना र लोकतान्त्रिक प्रक्रियाअनुसार गतिविधि अघि बढ्ने विश्वास लिएको जनाएको छ । आजदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठकले उक्त घटनाबाट बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारलाई थप तदारुकता देखाउनसमेत आग्रह गरेको छ ।

यस्तै, बैठकले केन्द्रीय कार्यसम्पादन समितिको गत असार १९ र २९ गतेको बैठकका निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै दिवङ्गत आत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको उनले बताए ।

आजको बैठकमा केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति कार्यसमितिलाई जानकारी गराएका थिए । त्यसैगरी केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बङ्गलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमका साथै त्यहाँ रहेका नेपालीसँग नियमित सम्पर्कमा रहेको जानकारी गराइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर