अपदस्थ शेख हसिना भारतमा रहेको भारतीय विदेशमन्त्रीको स्वीकारोक्ति

काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशङ्करले मङ्गलबार बङ्गलादेशमा ‘कानुन र व्यवस्था स्पष्ट रूपमा पुनर्बहाली नभएसम्म अत्यन्त चिन्तित रहेको’ बताएका छन् । प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको एक दिनपछि छिमेकी मुलुक बङ्गलादेशको पछिल्लो घटनाक्रमबारे उनको उक्त टिप्पणी बाहिर आएको हो । उनले हसिना भारतमा रहेको पनि पुष्टि गरे । प्रदर्शनकारीहरूले सोमबार आफ्नो भवनमा आक्रमण गरेपछि हसिना भागेकी थिइन् ।

संसदमा विदेशमन्त्री जयशङ्करले भने, “जबसम्म कानुन र व्यवस्था स्पष्ट रूपमा बहाल हुँदैन, हामी स्वाभाविक रूपमा अत्यन्त चिन्तित हुनेछौँ ।” चीनसँग बलियो सम्बन्ध कायम राख्दै भारतबाट समर्थन प्राप्त गर्ने कमजोर सन्तुलन बनाउने हसिनाको पतनप्रति नयाँदिल्लीले सावधानी अपनाएको छ ।

“पछिल्लो २४ घण्टामा हामी ढाकामा अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ”, विदेशमन्त्रीले भने, “सुरक्षा प्रतिष्ठानका नेताहरूसँगको बैठकपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने निर्णय गर्नुभएको हाम्रो बुझाइ छ ।” “धेरै छोटो सूचनामा उहाँले तत्काल भारत आउन स्वीकृतिका लागि अनुरोध गर्नुभयो, हामीले एकैसाथ बङ्गलादेशका अधिकारीहरूबाट उडान अनुमतिका लागि अनुरोध प्राप्त गर्यौँ, उहाँ हिजो साँझ दिल्ली आइपुग्नुभयो”, उनले भने ।

भारत र बङ्गलादेशले चार हजार किलोमिटरभन्दा लामो सीमा साझा गर्दछन् । “यो जटिल अवस्थालाई ध्यानमा राख्दै हाम्रो सीमा सुरक्षा बललाई पनि विशेष रूपमा सतर्क रहन निर्देशन दिइएको छ”, विदेशमन्त्री जयशङ्करले भने ।

बङ्गलादेशमा छिट्टै ‘सामाजिक स्थिरता पुनःस्थापना’ हुने चीनको विश्वास

यसैबिच चीनले ‘बङ्गलादेशमा सामाजिक स्थिरता चाँडै पुनःस्थापना हुनसक्ने’ विश्वास व्यक्त गरेको छ । पूर्वप्रधानमन्त्री शेख हसिना व्यापक विरोधपछि राजीनामा दिँदै मुलुकबाट भागेपछि बेइजिङमा विदेश मन्त्रालयले मङ्गलबार सो टिप्पणी गरेको हो । विदेश मन्त्रालयका प्रवक्ताले भने, “मैत्रीपूर्ण छिमेकी र व्यापक रणनीतिक सहयोगी साझेदारका रूपमा चीनले बङ्गलादेशमा चाँडोभन्दा चाँडो सामाजिक स्थिरता पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा राखेको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर