बंगलादेशमा हिन्दू र अल्पसंख्यकमाथि भएको बर्बर आक्रमणको विश्वव्यापी निन्दा

काठमाडौं ।  व्यापक प्रदर्शनबाट प्रधानमन्त्रीलाई अपदस्थ गरिएको एक दिनपछि बङ्गलादेशमा मानवाधिकार समूह र कूटनीतिज्ञहरूले मङ्गलबार हिन्दूलगायत अल्पसङ्ख्यकहरूमाथि भएको आक्रमणको रिपोर्टप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार हिन्दूहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा सोमबार हमला गरिएको थियो । हिन्दूहरूलाई मुस्लिम–बहुल राष्ट्रमा केही मानिसले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको निकटका रूपमा हेर्छन् । भीडले हसिनाका सहयोगीहरूमाथि बदला लिन हमला सुरु गरेको प्रहरीले बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार मुलुकभरमा हसिनाको अवामी लिग पार्टीका कार्यालयमा आगो लगाइएको छ र लुटपाट गरिएको छ ।

बङ्गलादेश हिन्दू बौद्ध क्रिस्चियन एकता परिषद्का महासचिव राणा दासगुप्ताले विज्ञप्तिमा भन्नुभयो, “सोमबार र मङ्गलबार कम्तीमा ९७ स्थानमा अल्पसङ्ख्यक मानिसका घर र पसलहरूमा हमला, तोडफोड र लुटपाट गरिएको छ ।” सोमबार कम्तीमा १० हिन्दू मन्दिरमा ‘बदमाश’ हरूले हमला गरेको परिषद्ले बताएको छ ।

अस्पतालका एक अधिकारीले सुरक्षाका कारण आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बङ्गलादेशको दक्षिणी बागेरहाट जिल्लामा एक हिन्दू व्यक्तिको कुटेर हत्या गरिएको बताए । ट्रान्सपेरेन्सी इन्टरनेसनल बङ्गलादेशका प्रमुख इफ्तिखारुज्जमानले भने, “अल्पसङ्ख्यकहरूमाथि यस्तो तरिकाको हमला भेदभावविरोधी विद्यार्थी आन्दोलनको मूल भावनाविरुद्ध हो ।”

ढाकामा अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ‘शान्त’ रहन आह्वान गरेको छ । युरोपेली सङ्घका कूटनीतिज्ञहरूले पठाएको सन्देशमा भनिएको छ, “हामी बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यक र धार्मिक स्थलहरूमा भएको हमलाको रिपोर्टबाट चिन्तित छौँ ।” “इयु मिसन प्रमुखहरू बङ्गलादेशमा जातीय र अन्य अल्पसङ्ख्यकहरूका पूजा स्थल र सदस्यहरूविरुद्ध हमला भएको रिपोर्टबाट अत्यन्त चिन्तित छन्”, बङ्गलादेशमा इयुका राजदूत चार्ल्स ह्वाइटलीले एक्समा भने, “हामी सबै पक्षलाई संयमता अपनाउन, साम्प्रदायिक हिंसालाई अस्वीकार गर्न र सबै बङ्गलादेशीको मानवाधिकारलाई कायम राख्न अपिल गर्दछौँ ।”

जुलाईको प्रारम्भमा भड्किएको विरोध प्रदर्शनपछि सोमबार अशान्तिको सबैभन्दा घातक दिन थियो । यस दिन कम्तीमा एक सय २२ जनाको मृत्यु भएको थियो । एक स्थानीय समाचार पत्रका अनुसार सोमबार भीडले अल्पसङ्ख्यक मुस्लिम सम्प्रदाय अहमदीका केही घरमा समेत आगो लगाएको थियो ।
प्रसिद्ध हिन्दू सङ्गीतकार राहुल आनन्दको घरमा पनि आगो लगाइएको छ । आनन्दले गत वर्ष ढाका भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग भेट गरेका थिए । भारतीय विदेशमन्त्री एस। जयशङ्करले पनि मङ्गलबार नयाँदिल्लीले ‘अल्पसङ्ख्यकहरूको स्थितिका सन्दर्भमा स्थितिको निगरानी गरिरहेको’ बताएको छ । “कानुन र व्यवस्था स्पष्टरूपमा पुनःबहाली नभएसम्म सरकार अत्यन्त चिन्तित हुनेछ”, उनले भने ।

मोहम्मद युनुस बंगलादेशका अन्तरिम सरकार प्रमुख बने

नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशका अन्तरिम सरकार प्रमुख बनेका छन् । राष्ट्रपति शहाबुद्धिनका प्रेस सचिवले मंगलबार राति यो जानकारी दिएका हुन् । यो निर्णय संसद भंग गरेपछि राष्ट्रपति र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि लिइएको हो । यसमा तीन सशक्त बलका सुरक्षाकर्मीका प्रमुख पनि सहभागी रहेका थिए । यता पूर्व प्रधानमन्त्री शेख हसिना केही समय भारतमै रहने बताइएको छ । गत सोमबार पदबाट राजीनामा दिएर उनी भारत भागेकी थिइन् । उनलाई बेलायतले शरणमा लिन नमानेको बताइरहँदा उनी केही समय भारतमै रहने भएकी हुन् । बेलायती सरकारले बंगलादेशमा विरोध प्रदर्शन चलिरहँदा उनीमाथि कारबाही हुन सक्ने संकेत गरेसँगै उनी भारतमै सुरक्षित रहने भएकी हुन् । पीटीआईका अनुसार हसिनालाई हाल सुरक्षित स्थानमा राखिएको छ । मिडिया रिपोर्टका अनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर