गुल्मीमा पहिरोमा परी चार जनाको मृत्यु, बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  गुल्मीमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका- १ बिसौनामा रातिदेखि आएको भारी वर्षासँगैको पहिरोमा दुई घर पुरिँदा चार जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन्।

मृत्यु हुनेमा ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक, ४८ वर्षीय गोरे विक र साढे दुई वर्षकी रियन्सा विक रहेका छन् भने घाइते हुनेमा ‍मुना विक र विष्णु विक रहेका छन्। घरमाथिबाट खसेको लेदोसहितको पहिरोले दुई घर पुरिएका हुन्। पहिरोमा परी घाइते भएका दुवै जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध

यसैबीच अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण आज बिहान ११ः१५ बजेदेखि रोशीस्थित बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ । रोशी गाउँपालिका–११ स्थित माम्ती खोला र भ्याकुरे खोलाको बाढीका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राजमार्ग अवरुद्ध हुँदा दुवैतर्फका सयौँ यातायातका साधन रोकिएका छन् । ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीले अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको जनाइएको छ ।

वर्षामा उक्त स्थानमा राजमार्ग अवरुद्ध हुँदै आउने गर्दछ । यस्तै वर्षाका कारण आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार माथिबाट आएको पहिरोका कारण अवरुद्ध उक्त सडक नेपाल प्रहरी र नेपाली सेनाको टोलीले एकतर्फी खुलाएको छ भने दुवैतर्फ खुलाउने प्रयास भइरहेको छ । उक्त राजमार्गको अन्य स्थानमा स–साना पहिरो गइरहने भएकाले तत्काल पहिरो पन्छ्याउन स्काभेटरलाई तयारी अवस्थामा राखिएको छ ।

पुण्यमाता खोलामा आएको बाढीले बगाएर एक महिलाको मृत्यु 

यसैबीच धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाएर आज एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भई पनौती नपा–५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासलाई श्रीखण्डपुरस्थित खोलाले बगाउँदा करिब तीन सय मिटर तल बिहान मृत अवस्थामा फेला पारिएको हो । (तस्बिरःसांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर