चोभारमा पहिरो, भक्तपुरको हनुमन्ते खोला खतराको बिन्दु पार

काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नं. ६ चोभारमा पहिरो गएको छ । पहिरोका कारण हेटौडा–बल्खु सडक खण्ड अवरुद्ध भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार बिहान १०ः१५ बजे पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ ।

यता बिहान ८ः२५ बजे काठमाडौँ महानगरपालिका १६ माछा पोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घर पसल डुबान परेको समेत महानगरले जनाएको छ ।

भक्तपुरको हनुमन्ते खोलाले खतराको बिन्दु पार

भक्तपुरको हनुमन्ते खोलाले खतराको बिन्दु पार गरेको छ। सोमबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलाले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हो। जल तथा मौसम विभागले खोला आसपास रहेकाहरूलाई सुरक्षित रहन आह्वान गरेको छ।

मोबाइलमार्फत सूचना पठाउँदै विभागले भनेको छ, ‘भक्तपुर जिल्लाको हनुमन्ते खोला जगाती बाढीमापन केन्द्रमा हाल जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा रहनुहुनेहरु बेलुका ५ बजे सम्म उच्च सतर्कता अपनाऔं।’ विभागका अनुसार मंगलबार र बुधबार देशका अधिकांश भागमा भारी पानी पर्ने सम्भावना छ। अवरल वर्षाका कारण देशका अरू भू-भागमा पनि बाढी पहिरोको जोखिम बढेको छ।

बल्खु तरकारी तथा फलफूल बजारभित्र बाढी

काठमाडौंको बल्खुस्थित तरकारी तथा फलफूल बजारभित्र बाढी पसेको छ । बागमतीको बाढी तरकारी बजारमा छिरेको हो । नगर प्रहरीका प्रहरी उपरीक्षक विष्णु जोशीका अनुसार सानो भर्‍याङ, टहाचलस्थित ज्ञानोदय स्कुल आसपास क्षेत्र, माइतीघर, न्यूप्लाजा क्षेत्रमा समेत पानी जमेर अस्तव्यस्त भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर