भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपीडी र क्युआर प्रणाली

काठमाडौं ।  भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपीडी र क्युआर प्रणाली सुरु भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि दुई सिफ्टमा सेवा सुरु भएको हो । अस्पतालले साउनको पहिलो साताबाट टोकन प्रणालीबाट सेवा, अनलाइन अपोइटमेन्ट, शल्यक्रिया कक्ष बढाएर पाँच बनाएको समेत जानकारी दिएको छ । अस्पतालमा तीन वटा मात्रै शल्यक्रियाका कक्ष थियो । जसका कारण शल्यक्रियाका लागि १ महिनासम्म कुर्नुपर्ने अवस्था रहेकोमा अब सो अवस्थाको अन्त्य हुने समेत अस्पतालले दाबी गरेको छ ।

मन्त्री पौडेलले सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाइ अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । यस्तै, विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न भनेका थिए । यसैगरी चिकित्सकको राउण्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाइ शय्या नपाइ भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गर्ने, अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा बढी युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमि देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमवाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्नका लागि निर्देशन दिइएको थियो ।

यस्तै, अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने) विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने, सेवाग्राहीले सामान्य कामका लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन पनि भनेका थिए । मन्त्रीको निर्देशन सबै लागू भइसकेको अस्पतालले जनाएको छ । अस्पतालले दैनिक ४ सय ५० देखि ६ सय ५० जना बिरामीलाई ओपीडी सेवा दिँदै आएको छ । दैनिक मेजर ३ र माइनर २ सर्जरी गरिँदैं आएकोमा अपरेशन थिएटर बढाएर ५ बनाइएसँगै दैनिक ५ वटै मेजर सर्जरी गर्न सकिने अस्पतालले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर