साउनको तेस्रो सोमबार : मुलुकभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबारका पशुपतिनाथ मन्दिरसहित मुलुकभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। साउन महिना आराध्यदेव महादेवलाई शीतल जल चढाउने परम्पराअनुसार बोल बम तीर्थ यात्रीहरूले बिहान सबेरै पवित्र नदीलालाबाट जल संकलन गरेर शिवलिंगमा चढाएका छन् । आजको पावन दिनमा हिन्दु धर्मावलम्बी महिलाहरूले हरेक सोमबार व्रत बस्ने तथा शिवालयमा गएर पूजा, दर्शन गर्ने परम्परा छ । साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहान चार बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

(भक्तपुरको सिपाडोलस्थित डोलेश्वर मन्दिर)
।