बंगलादेशमा आन्दोलन फेरि चर्कियो, ९० जनाको मृत्यु

काठमाडौं ।  बंगलादेशमा आन्दोलन फेरि चर्किएको छ । हिजो भएको सरकारविरोधी प्रदर्शनमा एकै दिनमा ९० जनाको मृत्यु भएको छ । गत महिना निजामती सेवाको जागिरमा कोटा खारेज गर्नुपर्ने माग राखेर सुरु भएको विद्यार्थी आन्दोलन अहिले सरकारविरोधी आन्दोलनमा परिणत भएको छ ।

विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिनुपर्ने माग गर्दै सविनय अवज्ञाको अभियान घोषणा गरेपछि आन्दोलन चर्किएको हो । आन्दोलनका क्रममा १३ प्रहरीको पनि मृत्यु भएको छ । सिराजगन्ज जिल्लाको प्रहरी चौकीमा हजारौं मानिसले आक्रमण गर्दा ती प्रहरीको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

प्रहरी र सत्तारुढ दलका केही समर्थकहरूले सरकार विरुद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रत्यक्ष गोलाबारी चलाएको बताइएको छ । प्रहरीले अश्रुग्यास र रबरका गोली समेत प्रहार गरेको छ । जुलाईमा विरोध आन्दोलन सुरु भएयता मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ । स्थिति नियन्त्रणमा लिन सरकारले साँझ छ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ । गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरहरूका साथै नगरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाइएको छ । राजधानी ढाकामा मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट समेत बन्द गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर