श्रीलंकासँग भारत ३२ रनले पराजित

काठमाडौं ।  श्रीलंकासँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारत ३२ रनले पराजित भएको छ । गएराति सम्पन्न खेलमा श्रीलंकाले दिएको २ सय ४१ रनको मध्यम लक्ष्य पछ्याउनेक्रममा भारत ४२.२ ओभरमा २ सय ८ रनमै अलआउट भयो ।  उसका लागि कप्तान रोहित शर्माले ४४ बलमा पाँच चौका र चार छक्कासहित सर्वाधिक ६४ रन बनाए । यस्तै, अक्षर पटेलले ४४, शुभमन गिलले ३५, वासिङ्टन सुन्दरले १५ र विराट कोहलीले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

भारतको पारी ध्वस्त पार्नेक्रममा श्रीलंकन स्पिनर जेफ्री वान्डरसेले घातक बलिङ गरे । उनले १० ओभरमा ३३ रन दिएर ६ विकेट लिए । यस्तै, कप्तान चरिथ अशलंकाले ६.२ ओभरमा दुई मेडनसहित २० रन दिएर तीन विकेट हात पारे । त्यसअघि कोलम्बोस्थित आर प्रेमदास स्टेडियममा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनायो । उसका लागि अविष्का फर्नान्डो र कामिन्दु मेन्डिसले ४०/४०, दुनिथ वेललागेले ३९, कुशल मेन्डिसले ३०, कप्तान चरिथ अशलंकाले २५, अकिला धनञ्जयले १५, सदीरा समरविक्रमाले १४ र जनिथ लियानागेले १२ रन बनाए ।

भारतका लागि वासिङ्टन सुन्दरले तीन, कुलदीप यादवले दुई, अक्षर पटेल र मोहम्मद सिराजले एक/एक विकेट लिए । यो जितपछि घरेलु टिम श्रीलंकाले सिरिजमा १–० को अग्रता लिएको छ । यी दुई टिमबीचको पहिलो खेल बराबरीमा टुंगिएको थियो । श्रीलंका र भारतबीचको अन्तिम तथा तेस्रो खेल बुधबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर