संसदको दुबै सदनको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज सोमबार दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सदनसमक्ष पेस गर्नेछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

यसैगरी राष्ट्रियसभाको बैठक पनि दिउँसो सवा २ बजे बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर