“बालेन साह जिन्दावाद” को नारा लाग्दा टुलुटुलु हेरेर बसेका हिजोका भीभीआइपीहरू…।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको लोकप्रियता के दिनप्रति दिन बढ्दै गएको हो ? यस प्रश्नको निरूपण गर्न जनमतको कसी लगाउन बाँकी नै होला तर बालेनको लोकप्रियतालाई झल्काउने र त्यसको पुष्टि गर्ने खालको पछिल्लो उदाहरण हो हिजो आइतबार ललितपुरको जाउलाखेलमा आयोजित रातो मत्स्येन्द्रनाथको भोटो जाात्रामा शरीक हुन गएका साहको पक्षमा केही युवाले उनको  जिन्दावादको नारा लगाउनु हो । नारा पनि यस्तो अवस्थामा लगाएका थिए कि जहाँ भोटो जात्रा अवलोकन गर्न आएका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ कर्मचारीहरू उपस्थित थिए ।

ती युवाहरूले बालेनको पक्षमा साधारण नारा लगाएका थिए, नारा थियो, “बालेन साह जिन्दावाद ।” टिप्पणी गर्न लायकको कुरा के छ भने जब बालेन सांस्कृतिक स्थल जाउलाखेल के आइपुगेका थिए ती युवाहरूले एकाएक नारा लगाउन सुरु गरेका थिए । भोटो जात्रामा कहिले पनि जिन्दावाद वा मूर्दावादको नारा लागेको विस्मृति (मेमोरी) मा समेत नरहेका ललितपुर महानगरपालिकाका मेयर अथवा हिजोका कार्यक्रमको अतिथि सत्कारको अभिभारा उठाएका चिरीबाबु महर्जनले समेत आफ्ना सुरक्षाकर्मीहरूलाई “त्यहाँ के भएको भनी” सोधपूछ गरेका थिए । मेयर महर्जनको कौतूहलता स्वाभाविक थियो भने जात्रामा उपस्थित भीभीआइपीको कान ठाडो हुने त प्रकृति स्वभावतः नै हुने भयो ।

जाउलाखेलको सडकको एक कुनामा शान्त र स्थिर भएर “बालेन साह जिन्दावाद” भनेर नारा लगाइरहेका ती युवाहरूलाई प्रहरीहरूले भद्रतापूर्वक नारा नलगाउन अनुरोध गर्नुबाहेक अन्य कुनै किसिमको हस्तक्षेप गरेनन् । अन्त्यमा नारा लगाउने ती युवाहरू पछि थाकेका हुन् कि योजना पूरा भएको हो ? बुझ्न नसकिने अवस्थामा एकाएक नाराको आवाज हराएको वा साम्य भएको थियो ।

मुलुकमा राजनीतिक स्थिरता र आर्थिक विकासका लागि भनेर कांग्रेस र एमालेको सरकार गठन भएता पनि जनतामा राजनीतिक असन्तुष्टि बढ्दै गएको छ । फेरि मेयर बालेन साहको अचेलभरी लुक्स पनि परिवर्तन भएको छ । उनले पहिलेको तुलनामा कपाल अलि लामा-लामा पालेका छन् । बालेनको आगमनको शैली र उनको पक्षमा घन्किएको नारा सुनेर बस्नुबाहेक हिजोका भीभीआइपीहरूसँग अरू विकल्प थिएन । नेपाली समाज यति चित-परिचित छ कि पक्ष–विपक्षमा कुनबेला नारा घन्किन्छ भनेर । व्याख्या गर्नु जरुरी छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर