बङ्गलादेशमा विद्यार्थीले पुनः आन्दोलन चर्क्याए

काठमाडौं । बङ्गलादेशमा विद्यार्थीले पुनः आन्दोलन चर्क्याएका छन्। पछिल्लो पटक उनीहरूको एकसूत्रीय माग नै सरकारको राजीनामा रहेको बङ्गलादेशका सञ्चारमाध्यमहरूले जनाएको छ। आन्दोलनका क्रममा मृत्यु भएका दुई सयभन्दा बढी सहपाठीको न्यायका लागि भन्दै विद्यार्थीहरू पुनः सडकमा उत्रिएका छन्।

ठूलो सङ्ख्यामा विद्यार्थीहरू शनिबारसमेत ढाकाको सडकमा निस्किएका थिए। केही ठाउँमा सुरक्षाकर्मीसँग झडपसमेत भएको थियो। झडपका क्रममा एक जना व्यापारीको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएको जनाएको छ। यसैबीच प्रधानमन्त्री शेख हसिनाले “विभेदविरोधी विद्यार्थी आन्दोलन” का संयोजकहरूलाई वार्तामा बोलाएकी थिइन्। तर आन्दोलनकारीहरू भने हसिनासँग वार्तामा नबस्ने अडानमा बसेका छन्। आन्दोलनकारी समूहका संयोजक नाहिद इस्लामले फेसबुकमा लेखेका छन्, “हत्यारा सरकारसँग न्यायको अपेक्षा र वार्ता गर्न सकिन्न। क्षमा दिने समय बितिसकेको छ ।”

आरक्षण र कोटा प्रणाली अदालतको आदेशले खारेज गरेपछि आन्दोलन केही समय मत्थर बनेको थियो। बङ्गलादेशको अदालतले ९३ प्रतिशत सरकारी जागिर खुला प्रतिस्पर्धाबाटै हुने आदेश दिएपछि आन्दोलन केही मत्थर भएको हो। उक्त निर्णयलाई हसिना सरकारले पनि स्वीकार गरिसकेको छ। बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका सन्तानलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा विश्वविद्यालयका विद्यार्थीले प्रदर्शन चर्काएका थिए।

प्रदर्शनले हिंसात्मक रूप लिएपछि भएको झडपमा डेढ सयभन्दा बढीको ज्यान गएको थियो। जसअनुसार सरकारी जागिरमा ३० प्रतिशत आरक्षण र कोटा प्रणाली स्वतन्त्र संग्राममा लडेका शहीदहरूको परिवारले पाउँदै आएका थिए। जसलाई सन् २०१८ मा हसिना सरकारले खारेज गरेको थियो। तर गत जुन महिनामा तल्लो अदालतले सरकारको उक्त निर्णय उल्ट्याएपछि विरोध प्रदर्शन सुरु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर