काठमाडौं उपत्यकामा भोलिदेखि गुँला पर्व आरम्भ हुँदै

काठमाडौं ।  स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने गुँला पर्वका लागिको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडक बत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।

महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको तथा सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताए । थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध भएको जानकारी दिए । स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले ट्राफिक प्रहरीसँगको सहकार्यमा सवारी जामलाई व्यवस्थापन गर्ने जनाएको छ । गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेला अवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजेश्वरी र  करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।

नेवार समुदायका शाक्य, बज्राचार्य, बुद्धाचार्य, श्रेष्ठाचार्य, मानन्धर, तुलाधरलगायत अन्य जातका बौद्ध धर्मावलम्बीहरू एक महिनासम्म चैत्य, विहार र गुम्बामा बिहान परिदर्शन गर्ने परम्परा रहेको छ । यो पर्व काठमाडौंको अतिरिक्त ललितपुर र भक्तपुरमा पनि उत्तिक्कै श्रद्धा र विश्वासपूर्वक मनाइने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर