पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउन कार्यदल गठन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले थाई एयर एसियाले हिजो शुक्रबारदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘थाई एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ ।’ ‘हिजो हामीले यससम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालनसम्बन्धी योजना पेस गर्ने जिम्मेवारी तोकेका छौँ । यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्नेछ । विमानस्थल सञ्चालनसम्बन्धी सुझाब दिन विज्ञहरूलाई समेत अनुरोध गर्छु ।’

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या,समाधानका उपाय ल्याउन निर्देशन दिएका थिए । आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसचिवहरु रहने कार्यदललाई विमानस्थल सञ्चालनको योजना ल्याउन जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर