संस्थागत सेयर लगानीकर्तालाई कर्जाको सीमा हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर दिने कर्जामा संस्थागततर्फको २० करोड रुपैयाँको सीमा खारेज गरेको छ । केन्द्रीय बैंकले आज शुक्रबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै संस्थागत सेयर लगानीकर्ताका लागि कर्जाको सीमा हटाएको हो ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा संस्थागत सेयर लगानीकर्ताका लागि कायम कर्जाको सीमा हटाइएको थियो । सोही व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यसअघि संस्थागत सेयर लगानीकर्ता २० करोड रुपैयाँ र व्यक्तिगतका हकमा १५ करोड रुपैयाँ सेयर ऋण लिन पाइने व्यवस्था थियो । अब कुन एक वा सबै वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १५ करोड कायम गरिएको छ ।

तर, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागिमात्र यस्तो सीमा लागू नहुने व्यवस्था संशोधित निर्देशनमा उल्लेख गरिएको छ । यसअघि राष्ट्र बैंकले गत साउन १७ गते संशोधित एकीकृत निर्देशन जारी गरेको थियो । त्यतिबेला केन्द्रीय बैंकले मौद्रिक नीतिमा ल्याइएको संस्थागत लगानीकर्तालाई कर्जाको सीमा खारेज गर्ने व्यवस्थालाई संशोधित निर्देशनमा ल्याएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर